बिषय प्रवेशः
दर्शन, सिद्धान्त र कार्यक्रम एक-अर्कासित अन्तर-सम्बन्धित भैकन पनि यिनीहरू फरक फरक विषयहरू हुन् । विश्व-दृष्टिकोण अध्ययनको अहिलेसम्मको सिलसिलालाई हेर्ने हो भने दर्शन, सिद्धान्त र कार्यक्रमलाई छुट्टाछुट्टै विषयको रूपमा स्पष्ट विभाजन नगरीकन एकैछत्रमा अध्ययन-विश्लेषण गरिएको पाइन्छ । कतिपय ठाउँमा दर्शन र सिद्धान्तलाई र कतिपय ठाउँमा दर्शन र कार्यक्रमलाई एकै विषयको रूपमा व्याख्या गरिएका छन् ।
विशेषतः सैद्धान्तिक वा दार्शनिक प्रवचन र लेखहरूमा दर्शन र सिद्धान्त बीचको भेदलाई नपहिल्याइकन एकैमुष्टमा विश्लेषण गरिएका हुन्छन् । जसले गर्दा हामीलाई प्रकृतिका नियमहरू बुझ्न झन् ठूलो कठिनाई आइपर्छन् ।
त्यसैगरी विशेषतः मार्क्सवादमा आस्था राख्ने राजनैतिक पार्टीहरूले दर्शन र कार्यक्रमलाई गोलमटोल रूपमा प्रस्तुत गर्दै आएको पाइन्छ । मार्क्सवादीहरूले आफ्ना राजनैतिक कार्यक्रमलाई अवश्यंभावी सत्यको रूपमा व्याख्या गर्न रचना गरिएको ’ऐतिहासिक र द्वन्दात्मक भौतिकवाद’ ले दर्शन र कार्यक्रमको बिचमा झन् धेरै अन्यौलहरू सृजना गरेको पाइन्छ ।
यहाँ उठान गरिएको ’क्रिया र प्रतिक्रिया’को नियमले दर्शन, सिद्धान्त र कार्यक्रमको भेद र तिनको अन्तर-सम्बन्धलाई व्याख्या गर्दै यिनलाई हालसम्मकै नविनतम विश्वदृष्टिकोण प्रदान गर्ने जमर्को गरेको छ ।